विश्वकपअघि अन्तिम परीक्षा : आज क्यानडासँग भिड्दै नेपाल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विश्वकपअघि अन्तिम परीक्षा : आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौ । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ।

चेन्नईस्थित ऐतिहासिक एमए चिदम्बरम क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ। यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गर्दै राम्रो लय देखाएको थियो।

ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको उक्त जितले नेपाली टोलीको मनोबल स्पष्ट रूपमा बढाएको छ। क्यानडाविरुद्धको खेललाई नेपालले विश्वकपअघिको अन्तिम तयारी र संयोजन परीक्षणको रूपमा लिएको छ।

विश्वकपको तयारीकै क्रममा नेपालले भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई अभ्यास खेल खेलेको थियो। त्यसअघि श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर नेपाल भारत पुगेको हो। लामो तयारी यात्रा पछि अब टोली निर्णायक चरणमा प्रवेश गरेको छ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै टी–२० विश्वकप अभियान सुरु गर्नेछ। समूह ‘सी’ मा रहेको नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। यो समूह कागजमै हेर्दा निकै कठिन मानिएको छ, जहाँ सानो गल्ती पनि महँगो पर्न सक्छ।

समूह चरणमा नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालका लागि इङ्ल्यान्ड र इटाली दुवै नयाँ प्रतिद्वन्द्वी हुन्, जससँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो।

समूह चरणका सबै खेल मुम्बईमा हुनेछन् र नेपालका खेलका सबै टिकट बिक्री भइसकेका छन्, जसले नेपाली क्रिकेटप्रतिको चासो र अपेक्षा स्पष्ट देखाउँछ।