झापामा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड, दोषीको खोजीमा प्रहरी
Prime TV News ३ हप्ता अगाडि 
झापा । झापामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ।
बुधबार राति झापाको कमल गाउँपालिका–२ मा रहेको रास्वपाको सम्पर्क कार्यालयमा अज्ञात व्यक्तिहरूले तोडफोड गरेको हो। झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै मात्र सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको थियो।
उक्त कार्यालय रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहको प्रचारप्रसार तथा भेटघाटका लागि प्रयोग हुँदै आएको थियो। तोडफोडका कारण कार्यालयको झ्यालका सिसा फुटेको रास्वपाका जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए। “सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झ्यालका सिसा फुटेका छन्, अन्य कुनै ठूलो क्षति छैन,” उनले बताए।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार तोडफोडबारे जानकारी प्राप्त भइसकेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।













