प्रचण्डको दाबी : फागुन २१ को निर्वाचनमा एमालेभन्दा धेरै सीट जित्ने निश्चित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमाले भन्दा धेरै सीट जित्ने दाबी गरेका छन्।
पार्टीका केन्द्रीय नेताहरूसँग भएको जुम बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यसपटक पार्टी एक्लै निर्वाचनमा होमिँदा पहिलो शक्ति बन्ने सम्भावना अझ बलियो बनेको बताए। उनले जनसमर्थन बढ्दो क्रममा रहेको उल्लेख गर्दै निर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्वास व्यक्त गरे।
प्रचण्डले एमालेसँग सम्भावित तालमेलको चर्चा निराधार रहेको स्पष्ट पार्दै जनताबाट तिरस्कृत र अस्वीकार गरिएका शक्तिहरूसँग कुनै पनि किसिमको गठबन्धन वा चुनावी तालमेल नहुने बताए। “जनताले नकारिसकेका तत्वहरूसँग हाम्रो पार्टीको कहिँ कतै सहकार्य हुँदैन,” बैठकमा उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय नेताले जानकारी दिए।
बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावना पूर्ण रूपमा खारेज गर्दै पार्टी आफ्नै बलमा निर्वाचनमा जाने स्पष्ट पारेका थिए। पार्टी नेतृत्वको पछिल्लो अभिव्यक्तिलाई आगामी निर्वाचनलाई लक्षित रणनीतिक सन्देशका रूपमा हेरिएको छ।












