पूर्वअर्थमन्त्री वर्षमान पुनले नक्कली प्रतिबद्धता पत्रविरुद्ध उजुरी दिए
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धता पत्र बनाएर सामाजिक सञ्जालमार्फत प्रचार भइरहेको भन्दै निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
पुन आगामी २१ फागुन हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नै गृह जिल्ला रोल्पा बाट उम्मेदवार छन्। उनले आफ्नो सचिवालयमार्फत उजुरी दिँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गरेका छन्।
उजुरीमा भनिएको छ कि सार्वजनिक गरिएको सामग्री अत्यन्तै भ्रामक, झुठा र चरित्र हत्या गर्ने किसिमको रहेको छ। यसले मतदातालाई भ्रमित पार्ने, निर्वाचनको निष्पक्षता र स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको भन्दै पुनले तत्काल हटाउन र संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न आग्रह गरेका छन्।
पुनका अनुसार, केही प्रतिस्पर्धी उम्मेदवारले आफ्नो पक्षमा मतदातामा भ्रम फैलाउने उद्देश्यले प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गरेका थिए। उनले पार्टीको चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्नातर्फबाट मौखिक बाहेक लिखित प्रतिबद्धता पत्र नबनाएको स्पष्ट पारे।
उक्त नक्कली प्रतिबद्धता पत्रमा रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस, माडीचौर फुटबल मैदानमा ठुलो अस्पताल, मेट्रो रेल र केबलकार निर्माण गर्ने जस्ता असम्भव योजना उल्लेख गरिएको छ।
पुनले भने, “यस प्रकारका कार्यहरूले निर्वाचनको स्वच्छता र लोकतन्त्रको मर्यादा बिगार्छ। त्यसैले यस्ता गतिविधिमा संलग्न सबैको पहिचान गरी कानुनअनुसार कारबाही हुनुपर्छ।”













