कांग्रेस महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र सुधारका लागि १५ बुँदे योजना प्रस्तुत
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नयाँ १५ बुँदे अवधारणा सार्वजनिक गरेका छन्।
उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा रूपान्तरण गर्ने आवश्यकता औँल्याएका छन्। महामन्त्री पौडेलले एक भिडियो वक्तव्य मार्फत बताए अनुसार, नेपालको वर्तमान आर्थिक प्रणालीमा प्रणालीगत सुधार आवश्यक छ।
उनले व्यक्तिवादी राजनीतिको साटो बलियो संस्थागत संरचना निर्माण र नागरिकको सहजता सुनिश्चित गर्न जोड दिएका छन्। उनले ज्ञानमा आधारित अर्थतन्त्रमा जोड दिनुपर्नेमा बल दिए, जसमा परम्परागत श्रम र पसिनाबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यात केन्द्रित हुनेछ। प्रविधिको प्रयोग मार्फत साना उद्यमी, युवा र दुर्गम क्षेत्रका प्रतिभालाई सिधै विश्व बजारसँग जोड्ने अवसरको लोकतान्त्रिकरण गर्ने योजना रहेको उनले बताए।
अर्थतन्त्र सुधारका लागि कानुनी बाधाहरू हटाउने पहल पनि आवश्यक रहेको उनले औँल्याए। उनले भने, “दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि विकास र लगानीमा बाधक बनेका झन्झटिला ऐनहरू पुनर्स्थापित गर्नुपर्नेछ। उद्योग, व्यवसाय र लगानीसँग सम्बन्धित कानुनी विवादहरू विशेष न्यायाधिकरणमार्फत छिटो समाधान गर्न आवश्यक छ।”
महामन्त्री पौडेलले २१औँ शताब्दीको लोकतान्त्रिक समाजवादको पक्षमा बल दिएका छन्। उनले गरिबी र अभाव हटाउन राज्यले सुरक्षा प्रदान गर्नुका साथै शिक्षा र स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्नुपर्ने र आर्थिक प्रगतिमा स्वस्थ प्रतिस्पर्धा प्रोत्साहित गर्नुपर्ने बताएका छन्। दलित, महिला र पछाडि परेका समुदायलाई सक्षम प्रतिस्पर्धी बनाउने विशेष सहुलियत र अग्राधिकारको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
डिजिटल अर्थतन्त्र र स्टार्टअप प्रवर्द्धनमा पनि उनी ध्यान केन्द्रित गर्दै, ई–कमर्स, राइड–सेयरिङ, डिजिटल प्लेटफर्महरूमा कानुनी मान्यता र नवप्रवर्तनको अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। निजी क्षेत्रको गतिशीलताले वस्तु–सेवा गुणस्तर सुधार्ने र मूल्य घटाउने विश्वास उनले व्यक्त गरेका छन्।
त्यसैगरी, आर्थिक कूटनीति र विदेशी लगानीका माध्यमबाट वैदेशिक सहायता मात्रमा निर्भर नहुने, व्यापार र लगानी भित्र्याउने नीति अपनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्। उनले नेपाली डायस्पोराको ज्ञान, सीप र पुँजीलाई ‘ब्रन गेन’मार्फत राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
महामन्त्री पौडेलको यस १५ बुँदे योजना नेपालमा दीर्घकालीन आर्थिक सुधार, रोजगार सृजना, डिजिटल अर्थतन्त्रको विकास र समावेशी समाजवादलाई सुदृढ गर्न केन्द्रित छ।













