जुम्लामा उम्मेदवारी कुनै पार्टी वा व्यक्तिविरुद्ध छैनः ज्ञानेन्द्र शाही
Prime TV News ३ हप्ता अगाडि 
जुम्ला । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै दल वा व्यक्तिविरुद्ध नभएको बताएका छन्।
उनले एक भिडिओ सन्देश जारी गर्दै भने, “मेरो उम्मेदवारी कुनै दलका विरुद्ध, कुनै पार्टीका विरुद्ध र कुनै व्यक्तिका विरुद्धमा होइन। मेरो उम्मेदवारी केन्द्र सत्ताले सधैँ जुम्लाका प्रतिनिधिलाई गर्ने दास व्यवहार र दास प्रथाविरुद्ध हो। हामीले एउटै टेबलमा बसेर, एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो।”
शाहीले भ्रामक प्रचार, गलत चरित्र चित्रण र चरित्रहीन कामहरूले मात्र व्यक्तिको प्रतिष्ठामा असर नपर्ने, तर जुम्लाको छवि र यहाँका जनताको दृष्टिकोणमा पनि असर पर्ने चेतावनी दिएका छन्। उनले जुम्लाको मान, सम्मान, इज्जत, प्रतिष्ठा, खस मस्टो संस्कृति, परम्परा र खस सभ्यता जुम्लाको साझा सम्पत्ति भएको बताए।
साथै, प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्दै चुनावी माहोलमा होम्नु र जनताको आशीर्वाद लिनु आफ्नो कर्तव्य भएको बताए। शाहीको यो अभिव्यक्ति हालै विनिता कठायतले उनलाई रवि लामिछाने र बालेन शाहसँगको सम्बन्धको आधारमा भोट मागेको आरोप लगाएकापछि आएको हो।













