साताको अन्तिम कारोबार दिन नेप्सेमा उत्साहजनक वृद्धि
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) उत्साहजनक वृद्धि देखाएको छ।
नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कुल ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन बजारमा २०१ कम्पनीको सेयर मूल्य बढेको, ५५ कम्पनीको मूल्य घटेको र ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा केही कम्पनीले उच्च मूल्य वृद्धि देखाएका छन्। कालिञ्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीका सेयर मूल्य १० प्रतिशतले बढेका छन् भने रिडी पावरको मूल्य ९.९७ प्रतिशत र खानिखोला हाइड्रोपावरको मूल्य ९.९६ प्रतिशतले बढेको छ।
कारोबार रकमको आधारमा भने युनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो जसको ५८.७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी राधी विद्युत् कम्पनीको ५७.५० करोड, एसवाई प्यानलको ५३.७४ करोड, आँखुखोला जलविद्युतको ४०.५५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको ३८.६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारपछि कुल बजार पूँजीकरण ४५ खर्ब ४७ अर्ब ९७ करोड पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेशन १५ खर्ब ४८ अर्ब २२ करोड रहेको छ।











