नेपाली कांग्रेसद्वारा चुनावी गठबन्धन अस्वीकार, १६५ वटै क्षेत्रमा उम्मेदवार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाइसकेको जानकारी दिए।
प्रवक्ता चालिसेले चुनावपूर्व कुनै पनि प्रकारको गठबन्धन नहुने दाबी गर्दै कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको बताए। “चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन। सबै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार छन् र हामी दृढतापूर्वक प्रचारमा जुटिरहेका छौँ,” उनले भने। पार्टी सभापतिले समेत यस विषयमा सार्वजनिक रूपमा स्पष्ट धारणा राखिसकेको उनको भनाइ थियो।
उनले गठबन्धनबारे फैलाइएका विभिन्न हल्ला र भ्रमप्रति संकेत गर्दै त्यसमा नपर्न आम मतदातालाई आग्रह गरे। साथै, उनले अधिनायकवादी प्रवृत्ति मिठा र आकर्षक भाषणमार्फत आउने चेतावनी पनि दिए। “नयाँ र परिवर्तनको नाममा आउने चिप्ला कुरामा भ्रमित नहुन आग्रह गर्दछु,” चालिसेले भने।
नेपाली कांग्रेसले लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षा आफ्नो मूल एजेन्डा भएको उल्लेख गर्दै जनतामाझ स्पष्ट नीति र दृष्टिकोणसहित जाने जनाएको छ। पार्टी नेतृत्वले आसन्न निर्वाचनमा जनताको विश्वास जित्ने विश्वाससमेत व्यक्त गरेको छ।












