घृणायुक्त प्रचार र सामाजिक सञ्जाल दुरुपयोग नगर्न मानव अधिकार आयोगको चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of घृणायुक्त प्रचार र सामाजिक सञ्जाल दुरुपयोग नगर्न मानव अधिकार आयोगको चेतावनी

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको प्रचार–प्रसारका क्रममा मर्यादाहीन र घृणाजन्य अभिव्यक्ति बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले राजनीतिक दल, उम्मेदवार तथा उनीहरूका समर्थकलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा केही दलका नेता तथा उम्मेदवारले चुनावी अभियानका क्रममा एक अर्काविरुद्ध अमर्यादित भाषा प्रयोग गरेको पाइएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले निर्वाचनको स्वच्छता र लोकतान्त्रिक मूल्यमा नकारात्मक प्रभाव पार्ने आयोगको भनाइ छ।

आयोगले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकोतर्फ पनि चिन्ता व्यक्त गरेको छ। अरूको प्रतिष्ठा, मर्यादा र व्यक्तिगत अधिकारमा असर पार्ने सामग्री उत्पादन गरी डिजिटल माध्यममार्फत प्रचार गरिएको पाइएको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा आयोगले घृणायुक्त आरोप प्रत्यारोप, भ्रमपूर्ण समाचार प्रकाशन तथा प्रसारण, हिंसात्मक क्रियाकलाप र मतदाताको गोपनियतामा असर पर्ने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ। साथै, मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री निर्वाचनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको जनाएको छ।