अभ्यास खेलमा नेपालको लगातार जित, क्यानडालाई ६ विकेटले पराजित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि सशक्त प्रदर्शन गर्दै ६ विकेटको जित हात पारेको छ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा आसिफ शेखको आक्रामक अर्धशतकीय इनिङ्स निर्णायक रह्यो। २९ बल खेलेका आसिफले ६ चौका र ३ छक्कासहित ५८ रन बनाएर रिटायर्ड आउट भए। उनलाई सन्दीप जोराले राम्रो साथ दिए। जोराले ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडे। गुलशन झा ३१ रनमा अविजित रहे।
बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए भने श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए। १८औँ ओभरमा आक्रामक ब्याटिङ गरेका मोव्वाले दुई छक्का र एक चौका प्रहार गर्दै टोलीको स्कोर उकासेका थिए।
कन्वरपाल ताथगुरले २५ रन जोड्दा जास्करन सिंहले ११ बलमा ३ छक्कासहित २१ रन बनाए। निकोलस किर्तोनले १० रन जोडे।
नेपालका बलरमध्ये सन्दीप लामिछाने प्रभावशाली देखिए। उनले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेलले ३ ओभरमा २ विकेट हात पारे भने सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिए।
यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ७ विकेटले पराजित गरेको थियो।
नेपाल आइसीसी टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। यस समूहमा इङ्ल्यान्ड र वेस्ट इन्डिजजस्ता दुई पटकका विश्वविजेता टोलीसँगै स्कटल्यान्ड र इटाली पनि रहेका छन्।













