निर्वाचन आयोगद्वारा प्रत्यक्षतर्फको मतपत्र छपाइ तीव्र, ७२ लाखभन्दा बढी छपाइ सम्पन्न

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन आयोगद्वारा प्रत्यक्षतर्फको मतपत्र छपाइ तीव्र, ७२ लाखभन्दा बढी छपाइ सम्पन्न

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य तीव्र गतिमा अघि बढिरहेको जनाएको छ। आयोगका अनुसार हालसम्म ६० जिल्लाका लागि मतपत्र छपाइ सकिएको छ भने सुदूरपश्चिम र हिमाली क्षेत्रका २५ जिल्लामा पठाउन मतपत्र प्याकिङ गरी तयारी अवस्थामा राखिएको छ।

आयोगले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार माघ १६ गतेदेखि सुरु भएको छपाइ कार्यबाट माघ २२ गते बिहान ८ बजेसम्म कुल ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकसमा प्याकिङ गरिएको छ।

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने आयोगको लक्ष्य छ। यो कार्य भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ।

यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस २६ गतेदेखि माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ तथा रुजु पूरा भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जानकारी दिएको छ।

त्यस्तै, प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लाहरूमा पठाइसकिएको आयोगले जनाएको छ।