जन्ती बोकेको बस खस्दा बैतडी शोकमा, १३ जनाको मृत्यु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जन्ती बोकेको बस खस्दा बैतडी शोकमा, १३ जनाको मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस भीषण दुर्घटनामा पर्दा १३ जनाको ज्यान गएको छ। दुर्घटनाले पूरै क्षेत्र शोकमा डुबाएको छ भने दर्जनौ यात्रु घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले जानकारी दिए।

दुर्घटनामा परेका ३६ जना घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस बडगाउँस्थित मोडमा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। घटनापछि स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको थियो।