इंग्ल्यान्डविरुद्ध ऐतिहासिक भिडन्त गर्दै नेपाल, टी–२० विश्वकपको उद्घाटनमा कडा चुनौती

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इंग्ल्यान्डविरुद्ध ऐतिहासिक भिडन्त गर्दै नेपाल, टी–२० विश्वकपको उद्घाटनमा कडा चुनौती

काठमाडौ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको रोमाञ्च अब सुरु हुने भएको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको यस संस्करणको विश्वकपमा नेपाली क्रिकेटप्रेमीको प्रतीक्षा अन्त्य हुन लागेको छ। नेपालले आइतबार विश्व विजेता इंग्ल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल दोस्रोपटक टी–२० विश्वकप खेल्न लागेको हो। सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपालले दोस्रो सहभागिताका लागि १० वर्ष कुर्नुपर्‍यो। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाल लगातार दोस्रोपटक विश्वकपमा सहभागी हुँदैछ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

नेपाल समूह ‘सी’ मा रहेको छ। समूहमा नेपालसँगै दुईपटकको विश्व विजेता वेस्ट इन्डिज, एकपटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। समूह ‘सी’ लाई यस संस्करणकै सबैभन्दा प्रतिस्पर्धात्मक समूह मानिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठ चरणमा प्रवेश गर्नेछन्।

विश्वकपअघि खेलेका दुई वाम अप खेलमा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ। यूएईविरुद्ध आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गर्दै नेपाललाई सात विकेटको सहज जित दिलाए। क्यानडाविरुद्ध आशिफ शेखको अर्धशतक र सन्दीप जोरा तथा गुल्सन झाको योगदानमा नेपालले चार विकेटको जित निकाल्यो। यी प्रदर्शनले इंग्ल्यान्डविरुद्ध आत्मविश्वास बढाएको छ।

नेपालले यसअघि वेस्ट इन्डिजसँग टी–२० आई खेलिसकेको भए पनि इंग्ल्यान्डविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल्न लागेको हो। त्यसैले यो खेल नेपाली क्रिकेट इतिहासमा विशेष महत्वको रहनेछ। विश्वकपका नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुनेछ।

विश्व विजेता इंग्ल्यान्ड बलियो टोलीका रूपमा मैदान उत्रँदैछ। दुईपटक टी–२० विश्वकप जितिसकेको इंग्ल्यान्ड हाल तेस्रो उपाधिको लक्ष्यमा छ। कप्तान ह्यारी ब्रुकको नेतृत्वमा जोस बटलर, फिल साल्ट, बेन डकेट, विल ज्याक्सजस्ता अनुभवी ब्याटर तथा जोफ्रा आर्चर र आदिल राशिदजस्ता प्रभावशाली बलर इंग्ल्यान्ड टोलीमा छन्।

यद्यपि वाम अप खेलमा देखाएको प्रदर्शन दोहोर्‍याउन सके नेपालले इंग्ल्यान्डलाई कडा चुनौती दिने विश्वास गरिएको छ। विश्वकपको पहिलो खेलमै विश्व विजेतासँगको भिडन्तले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझै चिनाउने अवसरका रूपमा हेरिएको छ।