राष्ट्रियसभाको बैठक आज, सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रियसभाको आज बस्ने बैठकमा सरकारले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिने प्रक्रिया अघि बढाउने भएको छ।
प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जाल विधेयक संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको थियो।
१७ औँ अधिवेशनमा राष्ट्रियसभामा दर्ता भएको सो विधेयक हाल विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा रहेको थियो। आजको बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन्।
छलफलपछि सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। त्यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ। यसअघि आज बिहान ११ बजे राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि दफावार छलफल हुने जानकारी समिति सभापति तुलसाकुमारी दाहालले दिएकी छन्।












