दशैको पहिलो दिन आज घटस्थापना


काठमाडौ । नेपाली समुदायको महान पर्व बडादसैं आज घटस्थापना सँगै आधिकारिक रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने १५ दिनको दुर्गा पक्षको पर्व घरघरमा पूजा अर्चना र धार्मिक विधिहरूसँग मनाइन्छ।
आज बिहानै, प्रत्येक घरमा वैदिक विधिपूर्वक कलश, दियो र गणेश स्थापना गरि दुर्गा देवीको आह्वान गरिएको छ। घरका पूजा कोठाहरूलाई पवित्र बनाइ गाईको गोबरले लिप्पी लगाएर त्यसमा बालुवा वा माटो राखेर जौ रोप्ने परम्परा पनि सुरु भएको छ, जसलाई जमरा राख्नेु भनिन्छ।
जमराको महत्व भनेको केवल धार्मिकता मात्र होइन, यसलाई समृद्धि र विजयको प्रतीक मानिन्छ। विजयादशमीका दिन जमरा देवीको प्रसादसँग ग्रहण गर्ने परम्परा रहेको छ। यसलाई पहेँलो रङमा ग्रहण गर्दा समृद्धि र सफलता प्राप्त हुने विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार, शास्त्रीय मान्यताअनुसार जौ बाहेक अन्य अन्न रोप्ने परम्परा छैन, तर कतिपय घरपरिवारले आफ्नो विशेष परम्परा अनुसार अन्य अन्न पनि राख्ने गर्छन्।
घटस्थापना र जमरा राख्ने यो परम्परा सुरु भएसँगै, बजारमा चहलपहल देखिन थालेको छ र घरघरमा दसैंको रौनक फैलिन थालेको छ।