‘न्यु स्टार्ट’ सन्धि समाप्त : अमेरिका रुसबीच परमाणु हतियारमा पहिलोपटक कानुनी सीमा शून्य
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिका र रुसबीच रणनीतिक आणविक हतियारको तैनाथी सीमित गर्दै आएको ऐतिहासिक ‘न्यु स्टार्ट’ सन्धि समाप्त भएको छ ।
यससँगै झन्डै आधा शताब्दीपछि पहिलोपटक विश्वका दुई प्रमुख आणविक शक्तिका परमाणु हतियारमा कुनै कानुनी प्रतिबन्ध बाँकी नरहेको अवस्था सिर्जना भएको छ । रुसको राष्ट्रपति कार्यालयले सन्धि समाप्तिप्रति खेद व्यक्त गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरानो सन्धि लम्ब्याउनेभन्दा नयाँ, अझ राम्रो र आधुनिक सम्झौता आवश्यक रहेको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ‘न्यु स्टार्ट’ जस्ता खराब सन्धिहरूलाई निरन्तरता दिनुको सट्टा दीर्घकालीन र प्रभावकारी नयाँ सन्धि तयार गर्नुपर्ने बताएका छन् । गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका सहमत भएमा सन्धिको अवधि थप एक वर्ष लम्ब्याउन तयार रहेको संकेत गरेका थिए ।
तर यस प्रस्तावप्रति ट्रम्प प्रशासनले कुनै औपचारिक प्रतिक्रिया नदिएपछि सन्धि स्वतः समाप्त भएको हो । नयाँ सन्धिका लागि ट्रम्पले चीनको सहभागिता अनिवार्य हुनुपर्ने अडान लिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले २१औँ शताब्दीमा चीनलाई समेट्न नसकिए वास्तविक हतियार नियन्त्रण सम्भव नहुने बताएका छन्, किनभने चीनको परमाणु भण्डार तीव्र गतिमा बढिरहेको छ ।
तर बेइजिङले उक्त प्रस्ताव अस्वीकार गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनको परमाणु क्षमता अमेरिका र रुसको तुलनामा निकै सानो रहेको भन्दै तत्काल निरस्त्रीकरण वार्तामा सहभागी नहुने स्पष्ट पारेका छन् । चीनले भने ‘न्यु स्टार्ट’ सन्धि समाप्त भएकोमा खेद व्यक्त गर्दै अमेरिका र रुसलाई वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ ।
रुसले चीनको अडानप्रति सम्मान व्यक्त गर्दै भावी सन्धिमा नेटो सदस्य फ्रान्स र बेलायतका परमाणु हतियार पनि समेटिनुपर्ने धारणा अघि सारेको छ । यसबीच, हतियार नियन्त्रण समर्थकहरूले ‘न्यु स्टार्ट’को अन्त्यले अमेरिका, रुस र चीनबीच खतरनाक त्रिपक्षीय परमाणु हतियार दौड सुरु हुन सक्ने चेतावनी दिएका छन् ।
विश्लेषकहरूका अनुसार कानुनी सीमाको अभावले विश्वव्यापी सुरक्षा प्रणाली कमजोर बनाउने र आणविक अस्थिरता बढाउने जोखिम उच्च बनाएको छ ।













