बेलायतमा मोटरसाइकल दुर्घटनामा नेपाली नागरिकको मृत्यु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बेलायतमा मोटरसाइकल दुर्घटनामा नेपाली नागरिकको मृत्यु

काठमाडौ । बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थल नजिक ४० वर्षीय रोशन अधिकारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

बुधबार, फेब्रुअरी ४ को बिहान करिब ८ बजे अधिकारीले चलाएको मोटरसाइकल सिल्यान्ड रोडमा अनियन्त्रित भई सडकको बारियरमा ठोक्किएको थियो। घटनास्थलमा लन्डन एम्बुलेन्स सेवा र फायर ब्रिगेडको आपतकालीन टोली पुगेको थियो।

प्यारामेडिकहरूले अधिकारीलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेन र उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। दुर्घटनापछि करिब ६ घण्टा साउदर्न पेरिमिटर रोड बन्द गरिएको थियो।

मेट्रोपोलिटन प्रहरीले दुर्घटनालाई ‘एकल सवारी दुर्घटना’ भएको पुष्टि गर्दै मृतकको परिवारलाई जानकारी गराएको छ। प्रहरीका विशेष अधिकारीहरूले अहिले परिवारलाई शोक सहानुभूति र आवश्यक सहयोग प्रदान गरिरहेका छन्।