दिल्ली क्यापिटल्स फेरि भारतको महिला प्रिमियर लिगको फाइनलमा निराश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । दिल्ली क्यापिटल्स फेरि एकपटक भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल) को फाइनलमा निराश बनेको छ ।
स्मृति मन्धाना र जर्जिया भोलको ऐतिहासिक १ सय ६५ रनको साझेदारी गरेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो पटक डब्ल्युपिएलको उपाधि जितेको छ ।
योसँगै दिल्ली लगातार चौथो पटक फाइनलमा पराजित भएको छ । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३ रनको विशाल योगफल तयार गरेको थियो । जेमिमाह रोड्रिग्सले ३७ बलमा ८ चौकासहित ५७ रनको आक्रामक अर्धशतक प्रहार गरिन् । त्यस्तै लरा वोल्भाड्र्टले ४४ रन जोडिन् ।
अन्तिम ओभरहरूमा चिनेल हेन्रीले लगातार चौका–छक्का प्रहार गर्दै टोलीलाई २ सय पार गराएकी थिइन्। उनले १५ बलमा ४ चौका र २ छक्कासहित नटआउट ३५ रन जोडिन् । आरसिबीकोतर्फबाट बलिङमा लरेन बेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १९ रन खर्चिइन् ।
२ सय ४ रनको लक्ष्य पछ्याएको आरसिबीले १९.४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। कप्तान स्मृति मन्धानाले ४१ बलमा १२ चौका ३ छक्कासहित ८७ रनको शानदार इनिङ खेलिन् । जर्जिया भोलले ५४ बलमा १४ चौकासहित ७९ रन जोड्दै ऐतिहासिक साझेदारी गरिन्।
दुवैले मिलेर डब्ल्युपिएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याए । दिल्लीका लागि चिनेल हेन्रीले बलिङमा पनि चम्कँदै २ विकेट लिइन् । तर त्यो पर्याप्त हुन सकेन। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा राधा यादवले लगातार २ चौका प्रहार गर्दै आरसिबीलाई जित दिलाइन् ।













