राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बालिकाको मृत्यु घटनामा प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बालिकाको मृत्यु घटनामा प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौ । रौतहट–२ का उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले घटनाको वस्तुनिष्ठ छानबिनमा स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घटना अत्यन्त गम्भीर छ। हामी स्थानीय प्रशासनलाई छानबिनमा पूर्ण सहयोग गर्नेछौँ र कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई न्याय दिलाउने कुनै कसर बाँकी राख्ने छैनौँ। पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँछौँ।”

विज्ञप्तिमा थप भनिएको छ कि पार्टीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउने र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिने कडा निर्देशन उम्मेदवार, चालक र पार्टीपंक्तिलाई दिइएको छ।

रास्वपाको यो कदमले घटनाप्रति पार्टीको संवेदनशीलता र पीडित परिवारप्रति न्याय सुनिश्चित गर्ने प्रतिबद्धता प्रष्ट पार्दछ।