निर्वाचन आयोगको नयाँ निर्देशन : उम्मेदवारले अब निजी खाताबाट चन्दा उठाउन नपाउने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन आयोगको नयाँ निर्देशन : उम्मेदवारले अब निजी खाताबाट चन्दा उठाउन नपाउने

काठमाडौ । निर्वाचन आयोगले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूका लागि चन्दा तथा आर्थिक सहयोग संकलनको नयाँ नियम लागू गरेको छ।

अबदेखि उम्मेदवार र दलहरूले आफ्नो निजी खाताबाट कुनै पनि आर्थिक सहयोग संकलन गर्न नपाउने र यो कार्य निर्वाचन प्रयोजनको लागि खोलिएका विशेष खाताबाट मात्र गर्न पाउने छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अघिल्लो निर्वाचनमा कतिपय उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत निजी बैंक खाताको विवरण सार्वजनिक गरेर चन्दा मागेका थिए। “अब भने निर्वाचन प्रयोजनका लागि खोलिएका खातामा बाहेक अरूबाट आर्थिक सहयोग माग्न पाइने छैन,” उनले बताए।

निर्वाचन प्रयोजनको लागि खुल्ने खाता निर्वाचन आयोगको सहजीकरण र अनुगमन अधिकृतहरूको प्रत्यक्ष निगरानीमा रहने  जनाएको छ। उम्मेदवार वा दलले खाता चलाउन पाउने भए पनि, आफ्नो निजी खातामा जस्तो सर्वाधिकार नभएको र कानून वा आचारसंहिता उल्लंघन भए कारोबार रोक्का गराउन सकिने व्यवस्था गरिएको छ।

अघिल्लो निर्वाचनदेखि खुला रहेकाहरूका खाताहरू पनि अब नयाँ प्रक्रियाअनुसार व्यवस्थापन गरिनेछ। पुराना खातामा रहेको रकम नयाँ खातामा सार्नुपर्नेछ। निर्वाचनमा नगदमा कारोबार गर्न पूर्ण निषेध गरिएको छ।

आयोगले देशभरका जिल्लाहरूको अवस्था अनुसार प्रति उम्मेदवार २५–३३ लाख रुपैयाँ खर्च गर्ने सीमा तोकेको छ। उम्मेदवार र दलले खातामा आर्थिक संकलन गर्दा यो सीमा नाघ्न पाउने छैन। निर्वाचन सकिएको ३५ दिनभित्र खाता बन्द हुनुपर्नेछ भने बैंकहरूले त्यसको विवरण छ वर्षसम्म सुरक्षित राख्नेछन्।

खातामा भएको जानकारी राज्य नियमनकारी निकाय बाहेक कसैले हेर्न नपाउने गरी गोप्यता कायम राखिएको छ। भट्टराईले भने, “यस प्रक्रियाले निर्वाचनलाई अझ पारदर्शी र स्वच्छ बनाउन मद्दत पुग्नेछ। अब निजी खाताबाट चन्दा उठाउने प्रचलन पूर्ण रूपमा रोकिनेछ।”