चीनले नेपालका लागि नयाँ राजदूत चाङ माओमिङ नियुक्त

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चीनले नेपालका लागि नयाँ राजदूत चाङ माओमिङ नियुक्त

काठमाडौ । चीन सरकारले नेपालमा आफ्नो नयाँ राजदूतको रूपमा चाङ माओमिङलाई पठाउने भएको छ।

उनी चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक रहिसकेका छन् र नेपाल मामिलामा विशेष अनुभव राख्छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले चाङको नियुक्ति नेपाल सरकारसँग स्वीकृत गराइसकेको छ।

फागुनको पहिलो हप्ताभित्र उनी नेपाल आउन तयार हुने जनाइएको छ। चीनले उनलाई नेपालमा भइरहेको चुनाव र बदलिँदो भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै चाँडै पठाउने निर्णय गरेको स्रोतले जनाएको छ।

हालै, तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएका थिए, जसले नेपाली राजनीतिमा व्यापक चर्चा पाएको थियो। चीनले यसबारे सरकारसँग असन्तुष्टि पनि जनाएको छ। पूर्व राजदूत चेन सोङले तीन वर्षको कार्यकाल पूरा गरी चीन फर्किसकेका छन्।

चाङ माओमिङ नेपाल भ्रमणमा पहिले पनि आइसकेका छन् र उच्चस्तरीय भेटघाटमा पटक–पटक संलग्न भइसकेका छन्।