सिंहदरबारमा नयाँ संसद् भवन निर्माणमा प्रगति राष्ट्रिय सभा अध्यक्ष दाहालले चासो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सिंहदरबारमा नयाँ संसद् भवन निर्माणमा प्रगति राष्ट्रिय सभा अध्यक्ष दाहालले चासो

काठमाडौ । सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधीन नयाँ संसद् भवनको निर्माण प्रगतिप्रति राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले चासो देखाएका छन्।

अध्यक्ष दाहालले निर्माण व्यवसायी, शहरी विकास मन्त्रालयका पदाधिकारी र संसद् सचिवालयका अधिकारीहरूसँग संयुक्त छलफल गर्दै भवनको प्रगति र कार्यान्वयन योजनाको समीक्षा गर्नेछन्। छलफल दिउँसो साढे ३ बजे राष्ट्रिय सभाको अध्यक्षको कार्यकक्षमा हुने जानकारी संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले दिएका छन्।

निर्माणाधीन भवनमा नयाँ प्रतिनिधिसभाको बैठक राख्ने तयारी भइरहेको छ। यो कदम बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन जलेपछि नयाँ संसद् भवन आवश्यक भएकाले उठाइएको हो। सिंहदरबार परिसरमा निर्माण भइरहेको पाँच तले नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न हुनेछ।

भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ भने ठेक्का तुन्दी–सेक जेभीले पाएको छ। नयाँ भवन बनेसँगै संसद् सचिवालयले विगत १९ वर्षदेखि तिर्नुपरेको भाडाको भारबाट मुक्ति पाउने छ। भवनमा ७०० सिटको प्रतिनिधिसभा हल, ४०० सिटको सभाहल, ३०० सिटको बाल्कोनी र राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिटको क्षमता राखिनेछ।

१० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र दलका प्रमुख सचेतकका लागि विशेष कार्यकक्ष समेत निर्माण भइरहेको छ। भवन परिसरमा पुस्तकालय, क्यान्टिन, बगैंचा, पार्किङ सुविधा, सुरक्षा भवन र खुला हरियाली क्षेत्र पनि रहनेछ।