यात्रुवाहक सवारीसाधनका लागि आजदेखि रुट परमिट खुला


काठमाडौ । सरकारले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि देशभर रुट परमिट खुला गरेको छ । चाडपर्वमा यातायात व्यवस्थापनका लागि आजदेखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
त्यस्तै, बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने समेत विभागले जनाएको छ ।
यस्तै बाटो अवरुद्ध बनेका कारण मुग्लिन –नारायणगढ सडक खण्ड लगायतमा सवारीको जाम बढेको र आजदेखि देशभर रुट परमिट खुला रहेकाले सबै निकायलाई सहजिकरणकालागि यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ ।
सवारीसाधनहरूलाई यात्रुको चाप बढी हुने स्थानहरूमा सबै निकायले सहजीकरण गरिदिन बिभागको अनुरोध छ । नागढुङ्गा सुरुङमार्ग यात्रुवाहक बसहरूलाई काठमाडौँबाट जाँदा एकतर्फी छोड्ने भएको सहमति छिटो लागू गर्न समेत बिभागले आग्रह गरेको छ ।