निर्वाचन अभियानका लागि एमाले अध्यक्ष ओली झापामा सक्रिय

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन अभियानका लागि एमाले अध्यक्ष ओली झापामा सक्रिय

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै निर्वाचन क्षेत्र झापा–५ पुगेका छन्।

चन्द्रगढी विमानस्थलमा अवतरण गरेपछि उनी बिर्तामोड हुँदै निर्वाचन क्षेत्रमा प्रवेश गरेका हुन्। विमानस्थलमा उनलाई प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरेसहित एमालेका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले झापामा निर्वाचन तयारी, शान्ति–सुरक्षाको अवस्था र समग्र चुनावी वातावरणबारे जिज्ञासा राख्दै सुझाव मागे। अध्यक्ष ओलीले देश अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै एमालेको भूमिका अझ महत्वपूर्ण भएको बताए।

“देशलाई सही दिशामा लैजान एमालेमय झापा र एमालेमय देश आवश्यक छ,” उनले भने। यसपटक झापामा एमालेको बलियो स्थिति रहेको दाबीसमेत उनले गरे। ओली यसअघि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न माघ ५ गते झापा आएका थिए र माघ ९ गते काठमाडौँ फर्किएका थिए।

एमाले झापा सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली झापामा करिब एक साता बस्नेछन्। यस अवधिमा उनी भोलि र पर्सी कमल गाउँपालिका केन्द्रित कार्यक्रम तथा भेटघाटमा सहभागी हुनेछन्। पालिका स्तरमै कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिएको कार्कीले बताए।