प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, दैनिक १३ लाख छपाइ हुँदै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम तीव्र बनाएको छ ।
केन्द्रले हाल दैनिक १३ लाखसम्म मतपत्र छपाइ गरिरहेको जनाएको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ छपाइ गर्नुपर्ने कुल दुई करोड तीन लाखभन्दा बढी मतपत्रमध्ये बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ । बाँकी मतपत्र आगामी एक साताभित्र छपाइ गरी प्याकिङ गरिने उनले जानकारी दिए ।
यसअघि केन्द्रले १० लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई उपलब्ध गराइसकेको छ, जसलाई आयोगले विभिन्न स्थानमा वितरण गरिसकेको छ । समानुपातिक प्रणालीतर्फ भने दुई करोड आठ लाखभन्दा बढी मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भइसकेको केन्द्रले जनाएको छ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार समानुपातिकतर्फका मतपत्र माघ २५/२६ गतेदेखि ढुवानी सुरु गरिनेछ भने प्रत्यक्षतर्फका मतपत्रको छपाइ यही महिनाभित्र सकाएर फागुन १/२ गतेसम्म जिल्लाहरूमा पठाइसक्ने तयारी गरिएको छ ।
हालसम्म ६० निर्वाचन क्षेत्रका लागि ८० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको बताइएको छ । निर्वाचन आयोगको योजना अनुसार आगामी फागुन ३ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने गरी केन्द्रले काम गरिरहेको पौडेलले बताए ।
यस्तै, निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूले नै खरिद गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।












