पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा प्रलोपा उम्मेदवार काराखेती निष्कासित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा प्रलोपा उम्मेदवार काराखेती निष्कासित

रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई  पार्टीबाट निष्कासन गरेको छ।

पार्टी हितविपरीत व्यक्तिवादी गतिविधिमा संलग्न भएको र पार्टीको नीति, सिद्धान्त तथा विधानको गम्भीर उल्लंघन गरेको ठहर गर्दै काराखेतीलाई निष्कासन गरिएको हो। प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको छ।

विज्ञप्तिअनुसार उम्मेदवार बनेपछि काराखेतीले अनुचित तरिकाले रकम माग गरेको तथा आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पुष्टि भएपछि पार्टीले कारबाही गरेको जनाएको छ।

काराखेतीलाई पार्टीबाट निष्कासन गरेसँगै रुपन्देही–३ मा अब कसलाई समर्थन गर्ने वा आगामी रणनीति के हुने भन्ने विषयमा पार्टी बैठकबाट छिट्टै निर्णय लिइने इन्चार्ज राईले बताएका छन्।