हामी सहभागिताका लागि मात्र आएका होइनौ, सुपर–८ पुग्ने स्पष्ट लक्ष्यसहित आएका छौः कुशल भुर्तेल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of हामी सहभागिताका लागि मात्र आएका होइनौ, सुपर–८ पुग्ने स्पष्ट लक्ष्यसहित आएका छौः कुशल भुर्तेल

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० क्रिकेट विश्वकपको सुपर–८ चरणमा पुग्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको छ । टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेपाली टोली लक्ष्यप्रति पूर्ण आत्मविश्वासी रहेको बताएका छन् ।

आगामी आइतबार इंग्ल्यान्डविरुद्ध हुने पहिलो खेलको पूर्वसन्ध्यामा प्रतिक्रिया दिँदै भुर्तेलले नेपाली टोलीले प्रतियोगिताका लागि पर्याप्त तयारी गरेको जनाए । उनले पछिल्लो समय टी–२० क्रिकेटमा नेपालले हासिल गर्दै आएको सकारात्मक नतिजाले टोलीको मनोबल उच्च बनाएको उल्लेख गरे ।

“इंग्ल्यान्डविरुद्ध खेल्न पाउनु उत्साहजनक छ । यो पहिलेदेखिको चाहना हो,” भुर्तेलले भने, “हामी सहभागिताका लागि मात्र आएका होइनौँ । सुपर–८ पुग्ने स्पष्ट लक्ष्यसहित आएका छौँ र त्यसका लागि आवश्यक तयारी गरेका छौँ ।”

नेपालले प्रतियोगिताको सुरुआत आइतबार इंग्ल्यान्डविरुद्ध गर्दैछ । खेल भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुने तालिका छ ।

यस संस्करणमा नेपाल समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् । बलियो टोलीहरूबीच प्रतिस्पर्धा भए पनि नेपाली टोली चुनौती सामना गर्न तयार रहेको खेलाडीहरूको भनाइ छ ।