आचारसंहिता उल्लङ्घन बढ्दो, १० उम्मेदवार अझै स्पष्टीकरण बुझाएनन्
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब २६ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाले आयोगलाई कडा बनाएको छ।
निर्वाचन आयोगले स्पष्टीकरण सोधेका ३४ राजनीतिक दल र सम्बन्धित उम्मेदवारमध्ये २४ जनाले मात्र जवाफ बुझाएका छन् भने १० जना अझै जिम्मेवारीबाट पन्छिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पटक पटक सचेत गराउँदा पनि केही उम्मेदवारले जवाफ नदिनु गम्भीर लापरबाही हो। निर्वाचनको मर्यादा नमान्नेहरू जनप्रतिनिधि बन्न योग्य छैनन् भन्ने सन्देश आयोगले स्पष्ट रूपमा दिएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले प्राप्त उजुरीमाथि छानबिन र कारबाही प्रक्रिया तीव्र बनाएको छ। केन्द्रदेखि जिल्ला तहसम्म आचारसंहिता अनुगमन संयन्त्र सक्रिय गरिएको आयोगको भनाइ छ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ।
उनीहरूलाई आर्थिक बाहेकका विषयमा अनुगमन गर्ने अधिकार दिइएको छ। आर्थिक विषयको अनुगमनका लागि भने प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
आयोगले सबै जिल्लामा सरोकारवालालाई आचारसंहिता पालना गराउने प्रतिवद्धता गराउने काम भइरहेको जनाएको छ। जिल्लास्तरमा प्राप्त उजुरीमा आवश्यक कारबाहीसमेत अघि बढाइएको छ।












