वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली सिने क्षेत्रमा शोक
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका थापाको ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण थापाको मृत्यु भएको हो। उपचारका प्रयास भए पनि उनलाई बचाउन सकिएन। उनको निधनसँगै नेपाली चलचित्र उद्योगले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको छ।
खलनायकको भूमिकाबाट विशेष पहिचान बनाएका सुनिल थापा नेपाली दर्शकमाझ ‘राते काइँला’ नामले परिचित थिए। उनले निभाएका नकारात्मक पात्रहरू केवल संवादका लागि होइन, अभिनयको गहिराइ र प्रभावका कारण स्मरणीय बनेका थिए।
खलनायकलाई कमजोर रूपमा प्रस्तुत गर्ने प्रवृत्तिबीच थापाले आफ्नो भूमिकालाई सशक्त र विश्वसनीय बनाएका थिए। लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थापा सीमित स्रोत र चुनौतीपूर्ण वातावरणमा पनि निरन्तर काम गर्दै आएका थिए।
उनी काठमाडौंको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। सुनिल थापाको निधन नेपाली सिनेमाका लागि सामान्य क्षति होइन। उनको योगदान नेपाली चलचित्र इतिहासमा सदैव स्मरणीय रहनेछ।












