काठमाडौ उपत्यकाका कांग्रेस उम्मेदवारले साझा विकास प्रतिबद्धता ल्याउने तयारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of काठमाडौ उपत्यकाका कांग्रेस उम्मेदवारले साझा विकास प्रतिबद्धता ल्याउने तयारी

काठमाडौ । नेपाली कांग्रेसले काठमाडौ उपत्यकामा चुनाव लडिरहेका आफ्ना उम्मेदवारहरूको तर्फबाट साझा विकास योजनासहितको प्रतिबद्धता सार्वजनिक गर्ने तयारी थालेको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलको पहलमा काठमाडौं, भक्तपुर र ललितपुरका उम्मेदवारहरूबीच समन्वयात्मक छलफल अघि बढाइएको हो। महामन्त्री पौडेल स्वयं काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्।

उनले उपत्यकालाई संघीय राजधानीका रूपमा दिगो र व्यवस्थित बनाउने उद्देश्यले आगामी पाँच वर्षमा गरिने प्राथमिक कामहरूको साझा खाका तयार गर्न छलफल सुरु गरिएको जानकारी दिए।

छलफलको केन्द्रमा उपत्यकाको यातायात व्यवस्थापन, शहरी पूर्वाधार, सडक, फोहोर व्यवस्थापन र समन्वित विकासका मुद्दा रहेका छन्। एउटै राजधानीभित्र जिल्ला र क्षेत्र फरक भए पनि समस्या साझा भएकाले अलग अलग प्रतिबद्धताभन्दा संयुक्त योजना आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ।

महामन्त्री पौडेलका अनुसार उम्मेदवारहरूबीचको परामर्शपछि तयार पारिने साझा प्रतिबद्धता चाँडै सार्वजनिक गरिनेछ। उनले संघीय राजधानीका सबै जिल्ला र क्षेत्रलाई समेट्ने विकास दृष्टिकोणसहित नागरिकमाझ जानु राजनीतिक रूपमा पनि आवश्यक रहेको बताए।