कांग्रेसका सभापति गगन थापाले लिए गण्डकी प्रदेशकाे रिपोटिङ्
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेश केन्द्रित चुनावी रणनीति निर्माणमा सक्रियता बढाएका छन्।
फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै उनले गण्डकी प्रदेशका ११ जिल्लामा रहेका १८ वटै निर्वाचन क्षेत्रको राजनीतिक अवस्था र संगठनिक कमजोरीबारे उम्मेदवार तथा पार्टी नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवारको वस्तुस्थिति, स्थानीय तहमा संगठनको सक्रियता, नेता–कार्यकर्ताबीचको भूमिकाको स्पष्टता र चुनाव जित्न आवश्यक ठोस रणनीतिमा गम्भीर समीक्षा गरिएको गण्डकी प्रदेश सांसद तथा कांग्रेस नेता डिल्लीराम सुवेदीले जानकारी दिए।
उनका अनुसार पार्टीभित्र लामो समयदेखि देखिँदै आएको असन्तुष्टि खुला रूपमा उठाइयो र छलफलमार्फत धेरै हदसम्म समाधान गरिएको छ। सुवेदीले नेतृत्वबाट आएको स्पष्ट निर्देशनपछि पार्टीभित्र ऊर्जा थपिएको र अब गण्डकीमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रने वातावरण बनेको बताए।
आन्तरिक द्वन्द्व र ढिलासुस्तीले कांग्रेसलाई कमजोर बनाउँदै आएको सत्य स्वीकार नगरी जित सम्भव नहुने निष्कर्षमा पार्टी नेतृत्व पुगेको संकेत पनि यस छलफलले दिएको छ।
सभापति थापाले यसअघि मधेस प्रदेशका आठ जिल्लाका नेता तथा कार्यकर्तासँग जनकपुरमा यस्तै चुनावी छलफल गरिसकेका छन्।
कांग्रेसले आवश्यकता अनुसार अन्य प्रदेशमा पनि संगठन सुदृढीकरण र चुनावी रणनीतिका लागि प्रत्यक्ष संवादलाई तीव्र बनाउने तयारी गरेको छ।













