कांग्रेस अब पुरानो होइन, सच्चिएको र एकताबद्ध पार्टी हो : सभापति गगन थापा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनपछि कांग्रेसले गम्भीर आत्मसमीक्षा गरेर आफूलाई सच्याएको दाबी गरेका छन्।
उनले कांग्रेस परिवर्तनबाट गुज्रिएको र अब देश बदल्ने स्पष्ट अभियानमा अघि बढेको बताए। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ५ ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले माघ १ गते सम्पन्न अधिवेशनपछि कांग्रेस देशकै सबैभन्दा नयाँ सोच बोकेको पार्टी बनेको दाबी गरे।
उनका अनुसार अधिवेशनले पार्टीभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरेको छ र अब कांग्रेस एकताबद्ध रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिनेछ। सभापति थापाले पार्टी बद्लिएको सन्देश केवल भाषणमा सीमित नराखी तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिए।
उनले विगतमा कांग्रेसलाई मत दिएका करिब २७ लाख मतदातामाझ पुगेर उनीहरूको अपेक्षा र असन्तुष्टि बुझ्न जरुरी रहेको बताए।
देशमा मौलाउँदै गएको भागबन्डा र भ्रष्टाचारप्रति संकेत गर्दै थापाले अब कांग्रेस त्यसको विरोधमा स्पष्ट र सशक्त भूमिकामा उत्रिने बताए। ‘नयाँ कांग्रेस’ को सन्देश सामाजिक सञ्जाल र प्रत्यक्ष जनसम्पर्कमार्फत फैलाउन उनले कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा कांग्रेस महामन्त्री तथा काठमाडौँ–५ का उम्मेदवार प्रदीप पौडेलले पार्टीको नीति र नेतृत्व दुवै नागरिकमुखी बनेको दाबी गरे। उनले कांग्रेसले अब पुरानो गल्ती दोहोर्याउने छुट नरहेको स्पष्ट पारे।
महामन्त्री पौडेलले अरूलाई गाली गरेर राजनीति नबन्ने भन्दै स्पष्ट दृष्टिकोण, विश्वसनीय एजेन्डा र इमानदार नेतृत्वबाट मात्रै जनविश्वास जित्न सकिने धारणा राखे।













