प्रतिनिधिसभामा समेत गठबन्धन गर्ने प्रस्ताव एमालेबाट आएको प्रचण्डको दाबी
Prime TV News ३ हप्ता अगाडि 
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा निर्वाचनअघि प्रतिनिधिसभामा समेत गठबन्धन गर्ने प्रस्ताव एमालेबाट आएको दाबी गरेका छन्।
सिन्धुलीमा आयोजित कार्यक्रममा उनले कांग्रेस र एमालेको आपसी मिलेमतोका कारण त्यो सहकार्य अघि बढ्न नसकेको बताए। प्रचण्डका अनुसार कांग्रेसको महाधिवेशन र राष्ट्रियसभा सदस्य निर्वाचन हुनुअघि कांग्रेस र एमालेका केही शीर्ष नेताहरूले सिट समायोजनको प्रस्ताव राखेका थिए
“यो हाम्रो प्रस्ताव थिएन। चुनाव जिताउने उद्देश्यले उहाँहरूले सिट मिलाउनुपर्ने कुरा गर्नुभएको थियो,” उनले भने। आफूहरूले त्यस प्रस्तावलाई न स्पष्ट रूपमा अस्वीकार गरेको न स्वीकार गरेको उनको भनाइ थियो।
उनले राष्ट्रियसभा चुनावलाई सहकार्यको प्रारम्भिक आधार बनाउने सोच भए पनि कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्दै कम्युनिस्ट शक्तिलाई बाहिर निकाल्ने बाटो रोजेको आरोप लगाए।
“राष्ट्रियसभामै कांग्रेस–एमाले मिलेपछि प्रतिनिधिसभाको गठबन्धन स्वतः समाप्त भयो,” प्रचण्डले भने। उनले यस्तो कदमलाई देशलाई गलत दिशातर्फ लैजाने र राजनीतिक रूपमा विध्वंसकारी भएको टिप्पणी गरे।
प्रचण्डले आफू चुनाव जित्नकै लागि रुकुम पूर्व नगएको दाबी गर्दै सिन्धुली, महोत्तरी वा नुवाकोटबाट उम्मेदवार बनेको भए पनि सजिलै जित्ने अवस्था रहेको बताए। साथै, पार्टीभित्र भावी प्रधानमन्त्रीबारे कुनै औपचारिक छलफल नभएको स्पष्ट पार्दै चर्चामा रहेका व्यक्तिहरूबाट प्रधानमन्त्री बन्ने सम्भावना न्यून रहेको संकेत गरे।












