कांग्रेस र कम्युनिष्टले शासन गरे, न सुशासन आयो न समृद्धि : उपेन्द्र यादव

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेस र कम्युनिष्टले शासन गरे, न सुशासन आयो न समृद्धि : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २०४६ सालपछि मुलुकको शासन सत्ता सम्हाल्दै आएका कांग्रेस र कम्युनिष्ट पार्टीहरूले देशलाई सुशासन, विकास र समृद्धि दिन पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।

सप्तरीको रुपनी गाउँपालिकामा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक संकटको मुख्य जिम्मेवारी यिनै दलहरूमा रहेको बताए।

अध्यक्ष यादवका अनुसार शिक्षा, स्वास्थ्य, उद्योगजस्ता आधारभूत क्षेत्र सुधार गर्नुको साटो ती क्षेत्रलाई निजीकरण र पार्टीकरणको सिकार बनाइयो। “राज्यका संरचना ध्वस्त छन्, युवा बेरोजगार छन्, जनतामा आक्रोश छ। यही असफल शासनको नतिजा आज देशले भोगिरहेको छ,” उनले स्पष्ट शब्दमा भने।

सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार यादवले चुनावका बेला गरिने खोक्रा प्रतिबद्धताप्रति जनताले आँखामा पट्टी बाँध्न नहुने बताए। “बाटो, अस्पताल, विद्यालय, सिँचाइको कुरा गर्ने नेतासँग ती काम किन भएनन् भनेर प्रश्न गर्नैपर्छ। जनताले चुप लागे लोकतन्त्र कमजोर हुन्छ,” उनले भने।

जसपा नेपालले मात्र मुलुकमा वास्तविक परिवर्तनको बाटो खोल्न सक्ने दाबी गर्दै यादवले आफ्नो र भावी पुस्ताको भविष्य सुरक्षित गर्न जसपाका उम्मेदवारलाई निर्णायक मत दिन आग्रह गरे।

उनले आफू सप्तरी–२ बाट निर्वाचित भएपछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालको आधुनिकीकरण, इन्जिनियरिङ र नर्सिङ कलेज भवन निर्माण, पक्की सडक विस्तारजस्ता योजनाहरू अघि बढेको र धेरै काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।