विश्व विजेता इंग्ल्यान्डसँग आज नेपालको कठिन परीक्षा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ मा नेपालले आज विश्व विजेता इंग्ल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको विश्वकपको यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
यो नेपालका लागि तेस्रो टी–२० विश्वकप हो। सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपालले दोस्रो सहभागिताका लागि एक दशक कुर्नुपर्यो। विगत दुई संस्करणमा नेपाल समूह चरणमै सीमित रहँदै आएको छ।
तर सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध देखाएको लडाकु प्रदर्शनले नेपाललाई हल्का भए पनि विश्व क्रिकेटको नक्सामा राखेको थियो। दक्षिण अफ्रिकासँग एक रनको हारले नेपाल कति नजिक थियो भन्ने देखाएको थियो, तर नतिजा फेरि पनि हार नै रह्यो।
यसपटक रोहितकुमार पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदैछ। सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपालका सबै खेल वानखेडे स्टेडियममै हुनेछन्, जसले घरेलु समर्थन त दिन्छ, तर दबाब पनि त्यत्तिकै बढाउँछ।
नेपाल समूह ‘सी’ मा परेको छ, जुन प्रतियोगिताकै सबैभन्दा कठिन समूह हो। समूहमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। स्पष्ट कुरा के हो भने, नेपाल यो समूहमा कमजोर टोलीकै रूपमा हेरिएको छ ।













