पश्चिमी वायु सक्रिय, तराईमा हुस्सु र पहाड–हिमालमा आंशिक बदली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पश्चिमी वायु सक्रिय, तराईमा हुस्सु र पहाड–हिमालमा आंशिक बदली

काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसका कारण तराईका केही स्थानमा हुस्सु कुहिरो देखिएको छ भने देशका पहाडी र हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। तराई क्षेत्रमा हुस्सुका कारण दृश्यता घटेको छ, जसले यातायातमा असर पार्न सक्ने अवस्था देखिएको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु कुहिरो जारी रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति तराईका केही स्थानमा बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।