मतदाताको गोपनीयता भङ्ग गर्ने, प्रभाव पार्ने वा भ्रम सिर्जना गर्ने गतिविधि नगर्न आग्रह

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मतदाताको गोपनीयता भङ्ग गर्ने, प्रभाव पार्ने वा भ्रम सिर्जना गर्ने गतिविधि नगर्न आग्रह

काठमाडौ । सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमले मतदातासँग खुलेआम ‘कसलाई मत दिनुहुन्छ’ भनेर सोध्नु मतदाताको गोपनीयतामाथिको गम्भीर आक्रमण भएको भन्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौँले कडा आपत्ति जनाएको छ।

निर्वाचन जस्तो संवेदनशील प्रक्रियालाई मजाक बनाउने यस्ता गतिविधि कानुनविपरीत र पूर्णतः निन्दनीय भएको कार्यालयको ठहर छ। निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ उल्लङ्घन भइरहेको स्पष्ट पार्दै यस्ता कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ।

मतदाताको गोपनीयता भङ्ग गर्ने, प्रभाव पार्ने वा भ्रम सिर्जना गर्ने कुनै पनि गतिविधि सह्य नहुने कार्यालयले जनाएको छ। उल्लङ्घन रोकिएन भने प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिइएको छ ।

आचारसंहिताअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान मितिभन्दा १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने व्यवस्था छ। सो अवधिभित्र मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन–प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाइन्छ।

तर, कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले यी नियमलाई खुलेआम कुल्चिरहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्धारित समयभन्दा पहिल्यै कोणसभा गर्ने, प्रचार सामग्री सार्वजनिक गर्ने र घरदैलो अभियान चलाएर मतदातालाई प्रभाव पार्ने काम भइरहेको सूचना प्राप्त भएको भन्दै निर्वाचन कार्यालयले यस्ता गतिविधि तुरुन्त रोक्न निर्देशन दिएको छ।

कानुन मिच्नेहरूलाई छुट नदिइने र प्रमाणका आधारमा तत्काल कारबाही गरिने कार्यालयको स्पष्ट सन्देश छ। आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा सबै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अन्तिम चेतावनी दिएका छन्।

निर्वाचनको मर्यादा र मतदाताको अधिकारमाथि खेलबाड गर्ने प्रवृत्ति घातक र लोकतन्त्रविरोधी भएको उनीहरूको निष्कर्ष छ।