राप्रपा कुनै विदेशी आशीर्वादबाट बनेको होइन : अध्यक्ष लिङ्देन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राप्रपा कुनै विदेशी आशीर्वादबाट बनेको होइन : अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा आधारहीन आरोपका कारण बनेको नभई नेपाली माटोमा संघर्षबाट जन्मिएको पार्टी भएको स्पष्ट पारेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपालाई कमजोर नठान्न चेतावनी दिए। उनले राप्रपालाई निषेध गरेर राजनीतिक यात्रा अघि बढाउन सकिन्छ भन्ने सोच भ्रम मात्र भएको बताए।

“राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ। राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले पनि नपाले हुन्छ,” उनले भने, “सबै प्रकारका चुनौतीको सामना गर्ने सामर्थ्यसहित पार्टी तयार छ, त्यसैले राप्रपालाई जिस्काउने प्रयास नगर्न म आग्रह गर्छु।”

अध्यक्ष लिङ्देनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई सरकारले पटक–पटक पक्राउ गरेको घटनाप्रति पनि आलोचना गरे। उनले राज्य शक्ति दुरुपयोग गर्दै असहमतिको स्वर दबाउने प्रयास भइरहेको आरोप लगाए।

देशमा अतिवाद र विदेशी हस्तक्षेप बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आम मतदातालाई सामाजिक सञ्जालको प्रभावमा परेर धारणा नबनाउन आग्रह गरे। “फेसबुक, रिल र टिकटकका आधारमा होइन, देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न आवश्यक छ,” उनले भने।

कार्यक्रममा उनले राप्रपाले राष्ट्रहित, राष्ट्रिय स्वाधीनता र नेपाली पहिचानको संरक्षणलाई प्राथमिकतामा राखेर राजनीति गरिरहेको दाबीसमेत गरे।