सल्यानमा नेकपाको चुनावी अभियान दोस्रो चरणमा, उम्मेदवारले शुरु गरे कपुरकोटबाट घरदैलो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सल्यानमा नेकपाको चुनावी अभियान दोस्रो चरणमा, उम्मेदवारले शुरु गरे कपुरकोटबाट घरदैलो

सल्यान । प्रतिनिधि सभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश मल्लले मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् । 

मतदातासँग आफ्ना एजेन्डा सुनाउने, गाउँका समस्याका साथै जनताका सल्लाह सुझाव संकलन गर्ने उद्धेश्यसहित उम्मेदवारसहितको टोलीले जनभेटघाट तीव्र बनाएको हो। सल्यानबाट प्रत्यक्षतर्फका उम्मेदवार रमेश मल्ल, समानुपातिक उम्मेदवार शारदा परियार, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भद्रसिंह बुढा लगायतको टोलीले कपुरकोट गाउँपालिकाको वडा नं. ६ सिनबाङका विभिन्न गाउँमा भेटघाट गरेको छ। 

वडा स्तरमा भेटघाट, भेला र घरदैलो लगायतका कार्यक्रम आजदेखि शुरु गरिएको र पहिलो दिन कपुरकोट गाउँपालिकाको वडा नं. ६ सिनबाङमा पुगेको उम्मेदवार मल्लले बताए । उनका अनुसार बिहानभरि ६ नम्बर वडामा भेटघाट गरिएको र आजै कपुरकोट गाउँपालिकाका वडा नं. १, २, ५ मा पनि पुग्ने कार्यक्रम रहेको छ।

उम्मेदवारको टोलीले आज बिहान ६ नम्बर वडा सिनबाङका रातामाटा, छायाँनाथ र जलबाङमा कार्यक्रम गरेको थियो भने वडा नं ५ रिमको शीतलबजारमा कार्यक्रम गरेको छ। आजै टोलीले सोही वडाको पैयाँडाँडा सलाम र वडा नं. १ र २ का विभिन्न ठाउँमा कार्यक्रम हुनेछन्।

मल्लले भेटघाटका क्रममा मतदातासँग गाउँका समस्याहरु केन्द्रित गरेर समाधानका लागि पहल गर्ने, जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि नीतिगत पहल तथा भौतिक विकासका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन्।

चुनावमा भोट माग्न मात्रै आउने नभएर चुनाव जितेपछि पनि नियमित गाउँमा फर्किने र सल्यान डेस्क नै खडा गरेर सल्यानका समग्र समस्यालाई एकीकृत ढंगले हल गर्ने विधि खोज्न आफूले काम गर्ने पनि बताएका छन्।