नेकपा कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाहीको तयारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेकपा कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाहीको तयारी

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टी अनुशासन उल्लंघनको कारण कारबाही प्रक्रिया अघि बढाएको छ।

पार्टीले शर्मालाई सांसद र पार्टी सदस्य दुवै पदबाट हटाउने तयारी गरेको हो। शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावी प्रचारमा संलग्न भएको भन्दै नेकपा प्रदेश कमिटीले कारबाहीको सिफारिस गरेको थियो।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले माघ २२ गते शर्मासँग लिखित स्पष्टीकरण मागेका थिए। उनी २४ घण्टाभित्र जवाफ दिनुपर्ने व्यवस्था भए पनि माघ २५ गतेसम्म जवाफ नआएपछि कारबाही कार्यान्वयनको तयारी भएको हो।

नेकपा संयोजक प्रचण्डका निजी सचिव गोविन्द आचार्यले भने, “कारबाहीका लागि पहिले नै स्पष्टीकरण सोधिएको थियो। प्रदेश कमिटीबाट पनि सिफारिस आइसकेको छ। अब कारबाही गर्न मात्र बाँकी छ र एक–दुई दिनभित्र हुनेछ।”

शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिमको प्रदेशसभा सदस्य थिए र पार्टी एकता सम्मेलनमा पनि सहभागी नभएका थिए। उनी एकीकृत समाजवादीसहितका अन्य घटकसँगको एकता प्रक्रियामा पनि विरोधमा उभिएका थिए।