बालेन्द्र शाहको घरमा चोरी, तीन जना पक्राउ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बालेन्द्र शाहको घरमा चोरी, तीन जना पक्राउ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरीका सामानहरू पनि बरामद भएका छन्। पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल सिलगडी–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्।

उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेनको डेरा कोठामा चोरी गरेका थिए। विष्णुबहादुर राजवाहकलाई २३ माघमा बाँसबारीबाट पक्राउ गरिएको हो। उनी फरार अभियुक्त भएको र विगतमा चोरीका धेरै घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ। उनको कोठाबाट राउटर, सिसि क्यामेरा, पिलास, सलाई, स्क्रु र अन्य सामान बरामद भएको छ।

खिमबहादुर खड्कालाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो। उनी बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन्। उनका घरबाट चाँदीका थाली, कचौरा, रिङ, झुम्का र लक्ष्मी मूर्तिसहितका मूल्यवान सामान बरामद भएका छन्।

सञ्जय श्रेष्ठलाई पनि २४ माघमा बालाजुबाट पक्राउ गरिएको हो। उनले खेतीकिसानी गर्दथे। उनको कोठाबाट झोला, डेल ल्यापटप, म्याकबुक प्रो, चार्जर बरामद गरिएको छ। एसपी भट्टराईका अनुसार, तीनैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ र चोरीसँग सम्बन्धित अन्य पक्षहरूको खोजी जारी छ।