सरकारले देशभर पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु गर्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकारले देशभर पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु गर्यो

काठमाडौ । सरकारले आजदेखि पाठेघरको मुख क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान देशभर सञ्चालन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले बागमती प्रदेशको महालक्ष्मी नगरपालिकाबाट यो अभियान सुरु गरेको हो। महाशाखाका अनुसार अभियान हिमाली जिल्लाबाहेक देशभर फागुन १५ गतेसम्म सञ्चालन हुनेछ भने हिमाली जिल्लामा चिसो मौसमका कारण चैत–वैशाख महिनामा कार्यक्रम सञ्चालन गरिनेछ।

यो खोप अभियान अन्तर्गत विद्यालयबाहिरका १० वर्ष उमेरका किशोरी, कक्षा ६ का सबै छात्रा र गत वर्ष छुटेका कक्षा ७–१० का छात्रा लाई खोप दिइनेछ। यस वर्ष सरकारले तीव्र रूपमा फैलिने एचपीभी भाइरस विरुद्ध खोपलाई नियमित खोप कार्यक्रममा राखेको छ।

महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतम का अनुसार, देशभर करिब ३ लाख ५० हजार किशोरी लाई प्राथमिकतामा राखेर खोप लगाइनेछ। चिकित्सकहरूले भनेका छन् कि पाठेघरको मुखको क्यान्सरमा ९५ प्रतिशतभन्दा बढी केस एचपीभी भाइरसका कारण हुने गरेका छन्।

एचपीभी भाइरसले मुख्यतः छाला र यौन अंगको ओसिलो सतहको कोशिकामा असर गर्छ र २०० भन्दा बढी प्रकारका प्रजाति रहेका छन्। सरकारको यो कदम पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन र किशोरीहरूको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।