पोखरा विमानस्थल घोटाला प्रकरण: रुद्रप्रसाद फुयाँल साधारण तारेखमा रिहा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पोखरा विमानस्थल घोटाला प्रकरण: रुद्रप्रसाद फुयाँल साधारण तारेखमा रिहा

काठमाडौ । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाँललाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फुयाँललाई साधारण तारेखमा राख्ने निर्णय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा ५ पूर्वमन्त्री, १० पूर्वसचिव र ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। प्रतिवादी पूर्वमन्त्रीहरूमा पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य रहेका छन्।

जसमा कांग्रेस नेता रामशरण महत तत्कालीन अर्थमन्त्री थिए भने बाँकी चार जना पूर्वपर्यटनमन्त्री हुन्। पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनेको राष्ट्रिय गौरवको आयोजना हो।

यसको अध्ययन २०६५ देखि सुरु भई २०७९ मा निर्माण सम्पन्न भएको थियो। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिले २०८२ वैशाखमा अख्तियारलाई अनुसन्धान निर्देशन दिएको थियो।