टीट्वान्टी एसिया कपको सुपर फोरमा भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित


काठमाडौ । ओपनर अभिषेक शर्माको अर्धशतकको सहयोगमा भारतले एसीसी टीट्वान्टी एसिया कपको सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जित्नलाई १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले १८ दशमलव ४ ओेभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए । शुभमन गिलले २८ बलमा ८ चौकासहित ४७ रन बनाए । भारतलाई ओपनर शुभमन गिल र अभिषेक शर्माले ९ दशमलव ५ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए ।
फहिम अशरफले गिललाई बोल्ड गर्दैपाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । कप्तान सूर्यकुमार यादव डक र सञ्जु स्यामसन १३ रनमा आउट भए । तिलक बर्मा १९ बलमा २ चौका र २ छक्कासहित ३० र हार्दिक पान्ड्या ७ रनमा नटआउट रहे ।
पाकिस्तानका हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । फहिम अशरफ र अब्रार अहमदले १–१ विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।
पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए । भारतका शिबम दुबेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ४५ रन खर्चिदा विकेटविहीन बने ।
कुलदीप यादव र हार्दिक पान्ड्याले १–१ विकेट लिए । यसअघि समूह चरणमा पाकिस्तान भारतसँग ७ विकेटले हार्न पुगेको थियो । अव मंगलबार पाकिस्तान र श्रीलंका खेल्नेछन् । बुधबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार बंगलादेश र पाकिस्तान खेल्नेछन् । शुक्रबार भारत र श्रीलंका खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।