प्रतिनिधि सभा निर्वाचन नजिकिँदै, मत बदर न्यूनीकरणमा निर्वाचन आयोगको जोड

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिनिधि सभा निर्वाचन नजिकिँदै, मत बदर न्यूनीकरणमा निर्वाचन आयोगको जोड

काठमाडौ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदाता शिक्षालाई प्राथमिकतामा राख्दै तयारी अघि बढाएको छ। अघिल्ला निर्वाचनहरूमा मत बदर दर उच्च देखिएपछि यस पटक मतदाता शिक्षामार्फत बदर मत घटाउने आयोगको लक्ष्य रहेको छ।

निर्वाचन आयोगका अनुसार, २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएको थियो। हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा समेत मत बदर भएको पाइएको छ। उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष तथा नगर प्रमुख मतदाता रहेका थिए।

आयोगका अनुसार, मत बदर हुनुका प्रमुख कारणहरू मतदाता स्वयंको जानकारीको कमी, मतपत्रमा गलत तरिकाले छाप लगाउनु तथा मतपत्रको सावधानीपूर्वक प्रयोग नगर्नु हुन्। यसै सन्दर्भमा निर्वाचन आयोगले मत बदर हुने आठ प्रमुख कारण सार्वजनिक गर्दै मतदातालाई सचेत गराएको छ।

आयोगका अनुसार, दुई वा चार वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ। त्यस्तै, एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाउँदा, स्वस्तिक छाप प्रष्ट नदेखिने गरी छाप लगाउँदा वा स्वस्तिक छापको सट्टा औँठाछाप वा अन्य संकेत प्रयोग गर्दा पनि मत बदर हुने आयोगले जनाएको छ।

यसैगरी, कोठाबाहिर छाप लगाइएमा, मतपत्र च्यातिएमा तथा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा पनि मत बदर हुने व्यवस्था छ। आयोगले मतदान गर्नुअघि मतपत्रमा हस्ताक्षर भए–नभएको जाँच गर्न र स्वस्तिक छाप एकपटक मात्रै, स्पष्ट रूपमा छाप लगाउन आग्रह गरेको छ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न माध्यममार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। मतदाताले सही तरिकाले मतदान गरेमा मात्र जनमतको सही सम्मान हुने भन्दै आयोगले सबै मतदातालाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।