इंग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालका युवा स्पिनर शेर मल्लले अविस्मरणीय डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सशक्त प्रवेश गरेका छन्।
उनको ऐतिहासिक प्रदर्शन रहेको खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको चुनौती दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इंग्ल्यान्डका लागि जेकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक प्रहार गर्दै टोलीको इनिङ्स सम्हाले।
नेपालका लागि डेब्यू खेलिरहेका शेर मल्लले दोस्रो ओभरमा पहिलो बलमै फिल साल्टलाई आउट गर्दै इतिहास रचे। उनले साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराउँदै टी–२० विश्वकप डेब्यूमै पहिलो बलमा विकेट लिने दुर्लभ उपलब्धि हासिल गरे।
साल्ट आउट भएपछि आएका जेकब बेथेलले इंग्ल्यान्डको इनिङ्सलाई अघि बढाए। उनले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए। बेथेल १४औँ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच भएपछि नेपालले ठूलो राहत पाएको थियो। उनी आउट हुँदा इंग्ल्यान्ड १२८ रनमा पुगेको थियो।
जोश बटलर पाँचौँ ओभरमा नन्दन यादवको बलमा विकेटकिपर आसिफ शेखबाट क्याच भए। टम ब्यान्टन भने तीन ओभरमै सन्दीप लामिछानेको बलमा २ रनमा एलबीडब्ल्यू भए। उनले रिभ्यु गरे पनि निर्णय उल्टिन सकेन। त्यसपछि साम करन पनि ऐरीको बलमा २ रनमै आउट भए।
कप्तान ह्यारी ब्रुकले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै इंग्ल्यान्डलाई प्रतिस्पर्धी स्कोरतर्फ डोर्याए। उनले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए। ब्रुक १९औँ ओभरमा नन्दन यादवको बलमा शेर मल्लबाट क्याच भए।
अन्तिम ओभरमा विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३९ रन नटआउट बनाए। उनले करण केसीको ओभरमा तीन छक्का प्रहार गरे। सोही ओभरमा करण केसीले जोफ्रा आर्चरलाई रनआउट गर्न सफल भए। बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।
अब नेपालले ऐतिहासिक जितका लागि १८५ रनको लक्ष्य पछ्याउनेछ।













