निर्वाचन आचारसंहिता उल्लंघन नगर्न त्रिविद्वारा शिक्षक कर्मचारीलाई निर्देशन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ।
आइतबार त्रिवि रजिस्ट्रारको कार्यालयले विश्वविद्यालय मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ पालना गर्न आग्रह गरेको हो। रजिस्ट्रारको कार्यालयका प्रमुख कृष्णहरि आचार्यद्वारा जारी परिपत्रमा विश्वविद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीले आचारसंहिताविपरीत हुने कुनै पनि कार्य नगर्न तथा नगराउन निर्देशन दिइएको उल्लेख छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। लागू आचारसंहिताअनुसार शिक्षण संस्थामा कार्यरत शिक्षक र कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ।
निर्वाचन निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जारी गरिएको आचारसंहिताको पालना गराउन विश्वविद्यालयले समयमै निर्देशन दिएको त्रिविको भनाइ छ।












