दमकमा बालेन शाहको घरदैलो अभियान, एमाले कार्यालय पुगेर भोट मागे
Prime TV News ३ हप्ता अगाडि 
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापाको दमक क्षेत्रमा चुनावी प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमका क्रममा नेकपा एमालेको दमक–३ स्थित पार्टी कार्यालय पुगेका छन्।
उनले त्यहाँ उपस्थित एमालेका नेता तथा कार्यकर्तासँग हात मिलाउँदै मत मागेका थिए। बालेन शाह एमाले कार्यालय पुगेपछि केही समर्थकहरूले हुटिङसमेत गरेका थिए। यद्यपि उनले राजनीतिक सहिष्णुता र संवादलाई प्राथमिकता दिँदै शान्त रूपमा भेटघाट सम्पन्न गरेका थिए।
आजै दमक पुगेका बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत विभिन्न टोल तथा चोकबजारमा नागरिकसँग प्रत्यक्ष छलफल र भेटघाट गरिरहेका छन्। उनका अनुसार स्थानीय समस्याबारे बुझ्न र आफ्ना योजना साझा गर्न यो अभियान केन्द्रित गरिएको हो।
बालेनले दमक नगरपालिका वडा नं. ७, १, २ र ३ समेट्ने गरी नागरिक भेटघाटका कार्यक्रम तय गरेका छन्। कार्यक्रमअनुसार पशुहाट (लेखनाथ चोक, वडा ७), सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमालय माध्यमिक विद्यालय अगाडि पाङ्गिनी चोकस्थित सम्पर्क कार्यालय, शिवालय मन्दिर दर्शन, आम चोक, बेलडाँगी–२ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) तथा डिपु चोकमा नागरिक भेटघाट कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ।
स्थानीयस्तरमा वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्दै आएका बालेन शाहको दमक केन्द्रित अभियानलाई स्थानीयवासी र राजनीतिक वृत्तले चासोका साथ हेरिरहेका छन्।












