नेपाल ४ रनले हार्यो, इंग्ल्यान्डसँग रोमाञ्चक संघर्ष
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आइसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले हार बेहोरेको छ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सकेको हो। अन्तिम ओभरमा १० रन आवश्यक परेपनि कप्तान रोहित पौडेल र सेट ब्याटर लोकेश बमको प्रयासले जित सुनिश्चित गर्न सकेन।
नेपालको इनिङ्स कुशल भुर्तेल र आसिफ शेखको राम्रो शुरुवातले सुरु भएको थियो। तर चौथो ओभरमा आसिफ आउट भएपछि छैटौं ओभरमा कुशल पनि फर्किए। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे।
ओपनरको आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्सलाई अघि बढाए। तेस्रो विकेटको लागि ८२ रनको साझेदारीले इंग्ल्यान्डलाई केही दबाबमा राखेको थियो। तर १५औँ ओभरमा दीपेन्द्रलाई साम करनले आउट गरेपछि नेपालले तेस्रो विकेट गुमायो। दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए र यससँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पनि पुरा गरे।
कप्तान रोहित पौडेलले ३४ बलमा ३९ रन बनाए, त्यसपछि आरिफ शेखले ८ बलमा १० रन जोड्दा खेल अन्तिम क्षणसम्म रोमाञ्चक रह्यो। इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। ज्याकब बेथेलले ३५ बलमा ५५ रन बनाए भने कप्तान ह्यारी ब्रूकले ३२ बलमा ५३ रन प्रहार गरे। फिनिसर विल ज्याक्सले १८ बलमा ३९ रन बनाउँदै इंग्ल्यान्डको स्कोर टार्गेटमा पुर्याए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए भने डेब्युटन्ट शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए। इंग्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए। नेपालको लागि हार भए पनि दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा १ हजार रन पुरा गर्नु र रोहित–दीपेन्द्रको साझेदारीले देखाएको संघर्षले टोलीका खेलाडी र समर्थकमा उत्साह कायम राखेको छ।













