देशका विभिन्न भूभागमा आज मौसममा आंशिक बदली देखिने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of देशका विभिन्न भूभागमा आज मौसममा आंशिक बदली देखिने

काठमाडौ । देशका विभिन्न भूभागमा आज मौसममा आंशिक बदली देखिने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

विभागले जनाएअनुसार दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। सुदूरपश्चिम प्रदेशसहित कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। यस्तै, रातिको समयमा तराईका थोरै स्थानमा हुस्सु लाग्ने र पहाडी तथा हिमाली भूभागमा बदली यथावत् रहने विभागले जनाएको छ।

कोसी र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको भन्दै विभागले चिसो बढ्न सक्ने र जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।